नेपालमा परापूर्व काल देखि नै मुलुकको आर्थिक, सामाजिक, सांस्कृतिक, वातावरणीय तथा जनताको दैनिक जीविकोपार्जनमा वन क्षेत्रको महत्वपूर्ण भूमिका रहि आएको छ । स्थानीय समुदायहरू जीविकोपार्जन र आय आर्जनका लागि काठ, इन्धन, दाउरा, घाँस, औषधिय वनस्पति र गैह्रकाष्ठ वन उत्पादनहरू (NTFPs) को लागि वनमा निर्भर छन्। यसका साथसाथै वन स्रोतहरूले माटो संरक्षण, जल नियमन, जलाधार संरक्षण, कार्बन सिक्वेस्ट्रेसन र जलवायु नियमनमा योगदान पुर्याउँछ, जसले स्थानीय समुदाय र विश्वव्यापी पारिस्थितिकी प्रणाली दुवैलाई फाइदा पुर्याउँछ। नेपालमा हाल वन क्षेत्र ५९.६२ लाख हेक्टर (४०.३६ प्रतिशत) र अन्य काष्ठ तथा बुट्यान ६.४८ लाख हेक्टर (४.३८ प्रतिशत) गरी कुल ६६.१ लाख हेक्टर (४४.७४ प्रतिशत) भू-भाग वन क्षेत्रले ओगटेको छ (DFRS 2015) । नेपालमा हरेक वर्ष बसोबास र विकास निर्माणमा वन क्षेत्रको प्रयोग भईरहेको छ । यस परिपेक्षमा वन क्षेत्रको वृद्धि गर्न खाली पर्ती जमिनमा वृक्षारोपण गरी वन क्षेत्रको वृद्धि एवं विकास गर्नुको विकल्प छैन । वन क्षेत्रको महत्वलाई मध्यनजर गरी नेपाल सरकारले सन् १९८० को दशकदेखि नै व्यापक रुपमा वृक्षारोपण गर्दै आएको छ ।
हाल नेपालको संविधान २०७२ लागू भए पश्चात नेपालको वन सम्बन्धी कार्यक्षेत्र र अधिकार संविधानको अनुसूची‐४, ५, ६, ७, ८ र ९ बमोजिम संघ, प्रदेश र स्थानीय तहमा बाँडिएको छ । सोही बमोजिम वि.सं. २०७५ साल देखि वन संगठनको नयाँ सांगठनिक संरचना अनुसार वन तथा भू-संरक्षण विभागको मातहतमा रहेको संघीय कार्यालयहरु मध्ये वन बीउ प्रयोगशाला तथा भण्डारण केन्द्र, हात्तीसारको अलावा वन बीउ प्रयोगशाला तथा भण्डारण केन्द्र, बाँके, पोखरा र विराटनगरको कार्यक्षेत्र विशुध्द प्राविधिक तवरको भएकोले महत्वपूर्ण केन्द्रको रुपमा रहेका छन् । यी केन्द्रले गुणस्तरीय वन बीउको सहज र प्रभावकारी वितरण गरी राष्ट्रिय वृक्षारोपणको अभियानलाई सहयोग पुर्याउने छन् ।
२०७५ सालमा संघिय कार्यालयको रुपमा वन वीउ प्रयोगशाला तथा भण्डारण केन्द वांकेको स्थापना भएको थियो । वन बीउ प्रयोगशाला तथा भण्डारण केन्द्र, नेपालगंज, बाँकेको उद्देश्यहरु निम्नानुसार रहेका छन् ।
उद्धेश्य
- बीउ उत्पादन क्षेत्रहरुको स्थापना तथा व्यवस्थापन गर्ने ।
- स्वस्थ बीउ संकलनको लागि जनशक्ति तयार गर्ने ।
- स्वस्थ तथा गुणस्तर बीउ उत्पादन गर्ने ।
- बीउको गुणस्तरीय परीक्षणको लागि वन बीउ प्रयोगशालाको आधुनिकीकरण गर्दै लैजाने ।
- सरोकारवाला निकायहरुलाई सहज रुपमा गुणस्तरीय बीउ उपलब्ध गराउने ।
- फलफूल तथा वन बीउ बगैचाको स्थापना तथा व्यवस्थापन गर्ने ।
- उपलब्ध बीउ परीक्षणको लागि गुणस्तरीय नर्सरी संचालन गर्ने ।
- लोपोन्मुख तथा संकटापन्न अवस्थाका रुख प्रजातिहरुको Ex-situ tyf In-situ gene conservation गर्ने ।